११ वर्षपछि बुवाको हत्यारा भेटेपछि….

काठमाडौं । ‘हिँड् काम गर्न जाउँ, इँट्टाभट्टामा काम पाइन्छ ।’ मकवानपुरको भीमफेदी नगरपालिका–८ कोगटे गाउँका डिलबहादुरलाई गाउँकै दुईजना साथीले यस्तो प्रस्ताव गरे । घरमा ४ जना छोरी थिए, श्रीमती गर्भवती थिईन् । घर धान्न डिलबहादुरलाई कामको जरुर आवश्यकता थियो । साथीहरुको प्रस्ताव स्वीकारेर उनी काठमाडौं आए ।

ललितपुरको गोदावरीस्थत झरुवारासीको आर.एस ईट्टाभट्टामा ३६ वर्षीय डिलबहादुर योञ्जन र उनका दुई साथी भिमसेन घागामगर र रामकृष्ण चुनीमगर सँगै काम गर्न थाले । सँगै बस्थे । ०६६ वैशाख २८ मा भिमसेन र रामकृष्ण मिलेर डिलबहादुरको हत्या गरे । गाउँबाट ललितपुर आएको १० दिनपछि भात नपकाएको निहुँमा कोदाली (फरुवा)को बिँडले हिर्काउँदा गम्भिर घाइते भएका उनको बीर अस्पतालमा मृत्यु भयो ।

साथीको हत्यापछि भारतको नयाँ दिल्लीतिर भागेका उनीहरु ११ वर्ष लुके । एघार वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्रेर काठमाडौं ल्याएको छ । आईतबार केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा डिलबहादुरकी दुई छोरी गमला र कमला आफ्नो बावुको हत्यारा हेर्न पुगेका छन् ।

‘बुवाको हत्यारा पक्रेको सुनेपछि रातभर निन्द्रै लागेन्’ केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी सहकुल थापासँग डिलबहादुरकी छोरी गमलाले भनिन्–‘एकपटक अनुहार हेर्न मन लागेर काठमाडौं आएँ ।’

‘थाकेका थियौं’

बुवाको हत्या हुँदा गमला योञ्जन १४ वर्षकी थिइन् । माईली बहिनी कमला १० वर्षकी । ‘आमाको चार महिनाको गर्भ थियो’ कमलाले भनिन्–‘त्यस्तो बेला घरबाट फकाएर ल्याएर बुवाको हत्या गरे ।’ निम्नवर्गीय सो परिवारको राज्यसत्तासम्म पहुँच थिएन् । ‘हाम्रो लागि लड्ने कोही छैन जस्तो लागेको थियो तर, प्रहरी रहेछ’ गमलाले रातोपाटीसँग भनिन्–‘गरिबको लागि कानुन छैन जस्तो लाग्थ्यो तर, कानुन रहेछ ढिला भएपनि न्याय पायौं ।’

डिलबहादुर पत्नी निर्मलाको पहुँच थिएन् । तर, छोरी गमलाले एसएसली पास गरेपछि बुवाको हत्यारा खोज्ने अठोट गरिन् । घटनाको फलो गरिन् । ‘बहिनी र म कुरा गर्थ्यौं’ डिआईजी थापाको कार्यकक्षमा गमलाले भनिन्–‘भाईले भविष्यमा बुवा खोज्ला, के जवाफ दिने भन्ने लाग्थ्यो ।’ बुवा बितेकै वर्ष कातिकमा भाई जन्मियो । घटनास्थल चापागाउँ प्रहरीको कार्यक्षेत्रमा पर्ने हुनाले दिदिबहिनी धेरैपटक त्यहाँ धाए । चापागाउँको प्रहरीले भन्यो–‘फाईल मकवानपुर पठाएको छ, त्यतै जानु ।’ मकवानपुर प्रहरीले भन्यो–‘फाईल यहाँ छैन्, उतै बुझ्नु’

‘हिम्मत हरिसकेका थियौं, माया मारेका थियौं’ गमलाले भनिन्–‘पोहोर जेठमा सिआईबीबाट इन्स्पेक्टर मणि थापाले फोन गरेर भने– ‘हेल्प गर्नुपर्छ है, हामी तपाईको बुवाको हत्यारा खोज्दै छौं’ भनेपछि मलाई फेरि आश लाग्यो ।’ ०७६ जेठमा तातेको सिआईबीको टोली फेरि सेलायो । गमलाले इन्सपेक्टर मणिलाई फोन गरेर सोधिन्–‘सर, सेलाउनु भो त ?

कोगटेबाट परिवार समेत लगेर भारतमा लुकेका हत्यारालाई केही गर्न सकिन्न भन्ने डिलबहादुरका छोरीहरुलाई लाग्थ्यो । तर, शुक्रवार सिआइबीले गमलालाई फोनबाट जानकारी दियो–‘हत्यारा पक्रिएर ल्याउँदै छौं, हल्ला नगर्नु ।’ गमलाले आफ्नी बहिनीलाई सो कुरा सेयर गरिन् । त्यो रात उनी निदाइनन् । भोलिपल्ट सुमो चढेर काठमाडौं आइन् ।

‘पत्यारै लागेको थिएन्’ रातोपाटीसँग उनले भनिन्–‘हिरासतमा हत्याराको अनुहार देखेपछि बल्ल पत्याएँ ।’ सहकुल थापाको कार्यकक्षमा गएर गमला र कमलाले हात जोडेर भने–‘हाम्रो लागि कटिबद्ध भएर लाग्नुभयो, हाम्रो परिवारको गुमेको खुसी फिर्ता ल्याइदिनुभयो, धन्यवाद ।’

हत्याराको धम्की–‘बावु मारेँ, अब तिम्रो पालो !’

डिलबहादुरलाई मारेर भिमसेन र रामकृष्ण कोगटे गए । उनीहरु मामा–भाञ्जा हुन् । अचानक डिलबहादुरकै घरमा पुगेपछि १४ वर्षीया गमलाले सोधिन्– ‘मेरो बुवालाई किन मारेको ?’ ‘त्यो भन्दा मलाई रामकृष्णले धम्की दिए–गमला भन्छिन्–‘तेरो बाउलाई त मारेँ, अब तेरो पालो भनेर मलाई धम्की दिए ।’ अनि, वैशाख ३० मा उनीहरु गाउँबाट भागे । ०६८ मा उनीहरुले कोगटेबाट परिवार पनि दिल्ली लगे । त्यतिबेला प्रहरीलाई खबर गर्न नसक्दा योञ्जन परिवार लामो सयम न्यायको खोजिमा तड्पियो

मजदूरी गरेर हरियाणामा जग्गा
रक्सौलबाट ट्रकमा दिल्ली गएका हत्या आरोपीले शुरुमा कागज कारखानामा काम गरे । दिल्ली स्ट्रेट इन्डष्ट्रियल एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड नरेलामा ८ वर्ष उनीहरुले कागजको कप बनाउने काम गरे । परिवार दिल्लीमै लगे कागज कारखानामा ८ वर्ष काम गरेपछि भिमसेनले अटो रिक्सा किनेर चलाउन थाले । रामकृष्ण प्लाष्टिकको झोला बनाउने कारखानामा काम गर्थे । दुवैको परिवारले ‘भारतीय आधार कार्ड’ लिए । आफ्नो परिचय लुकाए । ‘भिमसेनले भिमसिंह थापा र रामकृष्णले श्यामबावु चुनीको नाममा आधार कार्ड लिएको भेटियो’ अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरे भन्छन् ।

रामकृष्ण चुनीमगरले हरियाणामा जग्गा समेत किनेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । दिल्लीमै घरजम गरेर कानुनी कारवाहीबाट बच्ने उनीहरुको योजना अन्ततः असफल भयो । योन्जन परिवारले ११ वर्षपछि न्याय पाए ।

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार ०३:३२