मैले बुझ्न नसकेको तिम्रो मन

खै कहाँबाट सुरु गरौं गन्तव्यविहीन जिन्दगीका कथा । जब तिमी मेरो स’म्पर्कमा आयौ, तब मेरो ओइलिएको जिन्दगी फेरि पालुवा पलाउन लागेको मात्रै के थियो । तिमी नै मेरो बाँच्ने एक मात्रै आधार भयौ । कति रमाइला थिए, ती दिनहरू, अनि ती पलहरू। कहिले काहिँ सँगैछौ जस्तो लाग्छ । तर, होसमा आएपछि आफूलाई एक्लो पाउँछु ।

अपसोच त यति मात्र लाग्छ, न त तिमीले मेरो छट्पटाइको महशुस गर्न सकेका छौ, न त एयरपोर्टमा बिदाइको अन्तिम घडीमा तिमीलाई देख्न पाएँ । दुःख र सुख के हो ?, बिछोड भएपछि मात्र थाहा हुँदो रहेछ । आज भोलि यो जिन्दगी पनि फिक्का फिक्का लाग्छ, अनि आँसु पनि पानी सरी बग्दो रहेछ । जति नै सम्हाल्न खोजे पनि सकिरहेकी छैन मैले तिम्रो याद भुलाउन ।

आधा चाहना त दिलमा नै चिहान बनेका छन् । अझै पनि आधा चाहना निभ्न लागेको दियो झैँ धिपधिप भइरहेका छन् । हाम्रो सम्बन्धको सुरुआत भएको त त्यति धेरै भएको थिएन तर मेरो लागि भने ६ वर्षसम्म पछि लाग्नेहरूको कुनै वास्ता नै लागेन, लाग्यो केवल तिम्रो मात्रै । जिन्दगीमा पहिलो पटक तिमीलाई भेटेको थिएँ खुसीको त कुनै सीमा नै थिएन अनि मनमा अनेक खालका सपना ।

दोस्रो भेटको लागि आतुर थिए म जुन कुरा म आफैँलाई थाहा थिएन । सायद म धेरै तनाव भएर होला भेट्ने बित्तिकै अंगालो हालेर यति धेरै रुन मन थियो कि । अहिले सम्झिँदा पनि मेरो आँसु थामिएको छैन तर म विवश थिए अरूको अगाडि रुन सकिन। जुन ठाउँमा जानको लागि मैले प्रस्ताव गरेँ तिमी मञ्जुर भयौ तर किन हो सँधै खुसी हुने रमाउने ठाँउमा पुग्दा पनि खुल्न सकिरहेकी थिइँन् ।

धरै जोडीहरू आ-आफ्नै दुनियाँमा व्यस्त थिए । तर हामी खै कता-कता हरायाै मलाई डाँको छोडेर रुन मन लाग्यो । तर सकिनँ । हुन त तिम्रो लागि त्यो कुनै ठूलो थिएन होला । तर मेरो लागि त्यै दिन नै अभिशाप बनिरहेको छ । तिम्रो लागि भनेर आफ्ना जन्म दिने आमा बाबाको कुरा सुनिनँ । अनि उहाँहरूलाई भन्दा तिमीलाई नै बढी विश्वास गरेँ, के त्यो नै मेरो गल्ती थियो ।

मैले कुनै जात धर्म अनि रूपरङ हेरेर माया गरेको थिइँन् । थिएँ त केबल एउटा सुन्दर मन । समय कति बलवान हुँदो रहेछ है, कहिलेकाहिँ पहाड बनेर आफै उभिँदो रहेछ । अचेल अनेक प्रश्नहरूको बीचमा घेरिएकी छु, आखिर म तिम्रो को हुँ ? प्रेमिका या त साथी । प्रेमिका भए तिम्रो लायक किन हुन सकिनँ न त ? के समय बिताउनको लागि मात्रै मसँग यति नजिक भएको थियौ ।

अनि मसँग टाढिनु पर्ने कारण के थियो ? किन केही नभनी एक्कासि टाढा भयौ ? कमसेकम कारण भनेको भए पनि म आज यस्तो अवस्थामा पुग्थिन होला । तिमीलाई त समय मात्रै बिताउनु रहेछ तर मलाई पूरै जीवन । आखिर किन यस्तो नाटक गर्‍यौ सानु ? तिमीले केबल उत्तर पनि नदिएरै टाढा गयौ, आफ्नै घरमा कसैको सामु बह पोख्ने सामर्थ थिएन् ।

थियो त केबल तिम्रो सामु । जब तिमी टाढा हुन लागेको शंका लाग्यो त्यसपछि कति दिन कति रात रोएरै बिते । अरूले थाहा पाउँछन् कि भनेर ढोका थुनेर रुन्थेँ । कुनै दिन तिम्रोसामु पनि रोएको थिएँ, साँच्चै मन दुखेर रोएको थिएँ तर तिमीले त धरै नाटक नगर पो भन्यौ, त्यसको साक्षी त आँसुले भिजेका सिरानी अनि मेरा सुक्कसुक्क रुवाइको आवाज सुनेका भित्ता काफी छन् । बर्षा न्यौपाने को लेख नेपाल आज बाट।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार ०९:३५