अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

काठमाडौ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।

‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन नगर्ने बरु केही गतिविधिमा प्रतिबन्धात्मक कदमहरु चाल्ने निर्णय गरेको हो । यस अघि गरिएको लामो समयको लकडाउनका कारण ब्यापार ब्यवसायी धरासायी बनेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले सबैभन्दा जोखिम रहेका १४ जिल्लाका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैशाख महिनाभर अनलाईन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुनेछ । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

मन्त्रिपरिषद्को बैठकले ‘लकडाउनको अवस्थामा पुग्नु नपर्नेगरी’ कोरोनाभाइरस स ङ् क्र मण नियन्त्रण तथा रोकथामबारे निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

‘जनताको जीवन जोगाउनका लागि सकेसम्म फेरि लकडाउनमा जान नपरोस् भनेर स्वास्थ्य मन्त्रालयले कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा लगेका प्रस्तावहरू केही परिमार्जनसहित पारित भएको छ ।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०६:५४