अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो । पछिल्लो पटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो ।

त्यस्तै, कप्तान लियोनल मेस्सीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेस्सीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो ।

मेस्सीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।

इन्ज्युरी समयमा एडरसनले डे पलको प्रहारलाई वन भर्सेस वनको स्थितिमा विफल पार्दै झिनो आशा कायम राखेका थिए । तर त्यसपछि ब्राजिलले कुनै आक्रमण बुन्न नसक्दा अर्जेन्टिना उपाधि जित्न सफल रहयो ।

प्रकाशित मिति २६ असार २०७८, शनिबार २२:०७