युराेकप फुटबलकाे फाइनल आज राति, उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

काठमाडाैं । युरोकप फुटबलको फाइनल खेल आज राति हुने भएको छ । वेम्बली स्टेडियममा हुने फाइनलमा इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल राति १२ः४५ बजे शुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएका छन् । इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ ।

इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति २७ असार २०७८, आईतवार १०:२१