भारतसँग नेपाललाई अहिलेसम्मकै ठूलाे बदला लिने माैका

अन्ततः फेरी माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतकाे फेरि एकपटक प्रतिष्पर्दा हुने भएकाे छ ।

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भारतका कप्तान सुनिल चम्किए । खेलको ६२ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-१ को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा सुबासिस बोसले रातो कार्ड पाएपछि भारत अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ। फाइनल असोज ३० गते हुनेछ।

पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्यो । माल्दिभ्सले भने ६ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

यस्तै बंगलादेश ५ अंक जोडेर चौंथो र श्रीलंका १ अंक जोडेर पुछारमा रह्यो ।

प्रकाशित मिति २८ आश्विन २०७८, बिहीबार ०७:३६