के विवाह गर्नैपर्छ ? विवाह नगर्दा के हुन्छ ?

हरेक वर्षको मंसिर सुरू हुन लागेपछि १८ वर्ष पुगेका युवती र २० वर्ष नाघेका धेरै युवाहरूलाई सोधिने प्रश्न हो, अनि बिहे कहिले गर्ने त?

कहिलेकाहीँ त यो प्रश्न सुन्दासुन्दा वाक्क भइसकेका हुन्छन् मजस्तै धेरै युवायुवतीहरू अनि, कतिपय त घर, समाजको दबावमा परेर बिहे गर्छन् पनि अनि कतिपय त त्यसलाई नजरअन्दाज गरेर हिँडिरहेका हुन्छन्।

जसको भुक्तभोगी म आफैं नि छु, आफ्नै घरपरिवारमा बिहे गरिदिनुपर्छ भन्ने कुरा चलेको हुँदैन, त्यसको वास्ता हुँदैन तर अरूको विषयमा बढी टाउको दुखाउने कतिपय शुभचिन्तक र साथीहरूलाई भने बिहे गर्दिन हतार हुन्छ। हरेक पटकको भेटमा अनि बिहे कहिले त ? भनेर सोधिने प्रश्नले टाउको दुखिसकेको हुन्छ।

अझ कतिपय त केटाको फोटो, घरकुल खान्दानको कुरासहित आइपुग्छन्, हाँसेर टार्नु बाहेकको विकल्प हुँदैन। नेपाली समाजमा मंसिर महिनालाई विशेषगरी बिहे गर्ने महिनाको रूपमा लिइन्छ। बिहे गर्ने उमेर भएका युवायुवतीलाई मंसिर लाग्यो भन्यो भने बिहे गर्ने बेला भयो भन्ने संकेत गरेको बुझिन्छ।

अझ अलिक पहिलासम्म त साउन, भदौ, असोज कात्तिक लगायतका महिनाहरूमा बिहे गर्ने प्रचलन नै थिएन, केही आकलझुकल भए पनि त्यसलाई राम्रो मानिँदैनथ्यो, तर, अहिले भने १२ महिना नै बिहे गर्ने प्रचलन सुरू भइसकेको छ।

आवश्यकता र इच्छा अनुसार बिहे गर्ने प्रचलन पनि बदलिँदै गइरहेको छ।
तर, समाजको चिन्तन र बेलैमा बिहे नगरे घरबार, बालबच्चा हुँदैन भन्ने चलनका कारण भएका विवाहले सम्बन्धविच्छेदका घटना पनि उत्तिकै घटेका छन्। खासगरी नेपाली समाजमा केटा मान्छेको भन्दा पनि केटी मान्छेको विवाहका लागि भने हतार गर्ने चलन छ।

अझ पहाड र तराईतिर भने छोरी मान्छे २० वर्ष कटेपछि विवाह गरिदिनै हतार हुन्छ। उसको लागि राम्रो ज्वाइँ खोजिदिने अनि जे गर्छे उसकै घरमा गएर गर्छे भन्ने परम्परागत मान्यताबाट टाढा जान सकेको छैन समाज। जसले गर्दा राम्रो लेखपढ गर्ने केटी मान्छेहरू पनि बिहेपछि घरगृहस्थीमै सीमित हुन्छन्।

किनभने अझै पनि समाजले छोरी मान्छेको संसार घरगृहस्थी, परिवार, श्रीमान र बालबच्चाबाट बाहिर पनि छ भनेर सिकाउनै सकेको छैन।

शिक्षित परिवारमा पनि विवाहपछि श्रीमतीले घर सम्हाल्ने र श्रीमानले पैसा कमाएर ल्याउने भन्ने परम्परागत सोच बदलिन सकेको छैन। जसले गर्दा कतिपय छोरी मान्छेको पढाइ माटोमै गएर मिल्ने गर्छ।

यही प्रसंग जोडिरहँदा मलाई मसँगै पढ्ने एक जना मेहनती केटी साथीको याद आयो। जो परिवार र समाजको दबावका कारण भविष्यलाई नै दाउमा लगाएर विवाह गरी गृहिणीमा मात्रै सीमित हुन पुगेकी थिई।

बिएस्सी साइन्स पढेकी ऊ सानैदेखि दोस्रो हुन जानिन। कक्षामा पनि अति मेहनती ऊ पढेर केही बन्छु केही गर्छु भन्ने दृढ संकल्प राख्थी, हामीलाई समेत हौसला दिन्थी तर, पढाइ पूरा नहुँदै २१ वर्षमै उसको विवाह भयो।

२ वर्षपछि उसको बच्चा जन्मियो, घरमा सासू ससुरा बिरामी उनीहरूको स्याहार गर्नुपर्‍यो। यही गर्दै उसको पढाइ माटोमै मिलेको थियो।

बेलाबेला ऊ गुनासो गर्थी, ‘मैले चाँडै पढेर गल्ती गरें, त्यत्ति मेहेनत गरेर पढेको अहिले बच्चा र बुढाबुढीको स्याहार गर्नबाहेक केही गर्न काम लागेन, अब म ती सर्टिफिकेट आगो लगाइदिन्छु के अर्थ ती व्यवहारमा प्रयोग नभएका राम्रा नम्बरहरूको, मेरो त जे भयो भयो, हतार गरेर विवाह नगर है।’

प्रकाशित मिति ३० पुष २०७८, शुक्रबार ०७:३७